काठमाडौं ।
ए डिभिजन क्लब मनाङ मस्र्याङ्दीका लागि यस सिजनको लिग सुखद रहेन ।
तेस्रो स्थानमा रहदै मनाङले लिगको अन्त्य गर्यो । तर पनि क्लबका पदाधिकारी खुसीनै देखिए ।
मनाङले लिगको सुरुवातमा शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेको थियो ।
खेलाडी अनुबन्धनमा हार खाएपछि शीर्ष ६ भित्र पर्न समेत कठिन हुने क्लब पदाधिकारी बताउथे । तर खेलाडीको प्रर्दशन र नतिजा औसत रह्यो । क्लबको विरासतले समेत काम गर्यो । मनाङ तेस्रो बन्यो ।
तर धेरैले मनाङकोे आलोचना गरे ।
राम्रा र स्टार खेलाडी अनुबन्धन गर्न नसकेको भन्दै धेरैले आलोचना गरे । प्रशंसकले चित्त दुखाए । क्लबकै पदाधिकारी समेत नेतृत्वसंग रुष्ट बने ।
आखिर घरेलु फुटबलमा मनाङ चिनिएकै स्टार खेलाडी र बलियो टिमले हो ।
उपविजेता बन्न मनाङले विरासतले दिदैन, मान्दैन ।
भनिन्छ, मनाङ जित्नकै लागि जन्मिएको हो ।
मनाङ घरेलु फुटबलको सर्वाधिक सफल क्लब पनि हो । उसले कीर्तिमानी ८ पटक लिग जितेको छ ।
प्रष्ट तथ्याङ्ग त छैन, तर धेरै समर्थक रहेको क्लब मनाङलाई मानिन्छ ।
भौगोलिक रुपमा उपल्लो मनाङको जनजिवन कष्टकर छ । धेरै स्थानीय व्यापारनै गर्छन ।
व्यापार गर्न देश विदेश डुल्न पर्ने । विदेश आवत जावत गर्न पर्ने ।
व्यापारलाई मुख्य पेशा बनाएका धेरै मनाङ्गेलाई काठमाडौं प्रिय शहर बन्यो । मनाङका धेरै मानिस काठमाडौं आए । घर बनाए । स्थायी रुपमा बस्न थाले ।
ठमेल आसपासलाई केन्द्र बनाएका मनाङ्गेहरु संगठित रुपमै रहन मनाङ सेवा समाज गठन गरे । समाजले सुख दुखमा हेर्ने त भैहाल्यो । फुटबलका सौखिन मनाङ्गेले क्लबनै बनाएर अघि बढ्ने निधो गरे ।
माथिल्लो मनाङका ७ गाविस छन् । प्रत्येक गाविसबाट २÷२ जना प्रतिनिधि क्लबमा आउँछन् । कार्यसमिति बनाउँछन्, फुटबल चलाउँछन् । कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ ।
कार्यसमितिको सफलता लिगको उपाधिले निर्धारण गर्छ । सफलता भनेकै मनाङका लागि उपाधि हो, दोस्रो हुनुले अर्थ राख्दैन ।
तर लिगमा तेस्रो भएपनि यस पटक क्लबका पदाधिकारी खुसी देखिए । खुसी हुने तिनै थिए, जसले टिम बनाउन मेहनत गरेका थिए ।
कारण लिगको मुखैमा क्लबका सबै पुराना खेलाडीले क्लब छाडेका थिए ।
भर्खरै क्लबमा नयाँ नेतृत्व आएको थियो ।
नेतृत्वले लिगको तयारी राम्रोसंग गर्नै पाएन । पुराना खेलाडीसंग समन्व्य गर्न सकेन ।
सोही कारण क्लबमा झण्डै दशक समय बिताएका विशाल श्रेष्ठ, सुजल श्रेष्ठ सहित विशाल राई, हेमन गुरुङ, विराज महर्जन लगायत राष्ट्रिय टिमका अधिकांश ठुला अनुहारले नयाँ सिजनको गन्तव्य मछिन्द्र क्लबलाई रोजे ।
राम्रा विदेशी खेलाडी मानिएका एडिलाजा सोमिडे पनि त्यही पुगे ।
प्रत्येक दुई बर्षमा फेरिने कार्यसमितिको असर यस पटक लिगको टिम संयोजनमा पर्यो । सदाबहार दाबेदार क्लब मनाङलाई लिगमा उत्रदै गर्दा समेत खेलाडीको अभाव देखियो ।
मनाङमा रहेका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट एन्फाको प्रतिबन्धमा थिए । क्लबले कमल श्रेष्ठलाई कप्तानी जिम्मेवारी दिदै अधिकांश दोस्रो रोजाईका खेलाडीलाई ए डिभिजन लिगमा अवसर दिने रणनीति अख्तियार गर्यो ।
टिमका अधिकांश खेलाडी नयाँ थिए, युवा थिए ।
रणनीतिक रुपमा चलाख विदेशी प्रशिक्षक तापे फुजाले आर्मी जस्तो बलियो टिमलाई लिगको दौरान ढालेर उपाधि होडमा आफुलाई समाहित गर्न सफल भए । विस्तारै टिम सेट हुँदै गयो । प्रर्दशन र नतिजा अपेक्षितनै थियो । मनाङले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्यो ।
लिग सकिए लगत्तै ए डिभिजनका शीर्ष क्लब मोफसलमा ब्यस्त भए ।
मनाङ झापा लाग्यो, सताक्षी गोल्डकप खेल्न ।
तर उद्घाटन खेलमै आयोजकसंग पराजित हुँदै मनाङ प्रतियोगिताबाट बाहिरियो ।
आयोजकलाई कमजोर आकलन गरेको मनाङले मोफसलको पहिलो खेलमै दण्ड भेट्यो ।
मोफसलमा महिनाको तीन प्रतियोगिता मात्र खेल्न पाउने एन्फाको नयाँ नियम थियो ।
सोही अनुसार मनाङले बुढाशुब्बा गोल्डकप र आहा–रारा गोल्डकप रोज्यो ।
अन्तिममा मनाङले दुवै प्रतियोगितामा पुलिसलाई हराउँदै मोफसलका दुई प्रतिष्ठित गोल्डकप उचाल्यो ।
लिगमा असफल बनेको मनाङले मोफसलका दुई गोल्डकप जित्दै पुरानै लयमा फर्कन खोजेको स्पष्ट संकेत गरेको छ ।
‘मोफसलमा लगभग शतप्रतिशत सफल भयौ भन्ने लागेको छ ।’ क्लबमा महासचिव अनिल गुरुङले खेलपाटीसंग भने, ‘ठुला खेलाडी हुदाँ मोफसलमा खासै केही जित्न सकिएन । तर अहिले मोफसलका दुई प्रतिष्ठित गोल्डकप जितेका छौ । राम्रो नतिजा आएको विश्लेषण गरेका छौ ।’
मनाङले गत सिजन अन्तिम खेलमात्र गुमाउँदै लिग जितेको थियो । राष्ट्रिय टिमका अधिकांश स्टार खेलाडी भएपनि मनाङ गत सिजन मोफसलमा फिक्का सावित बन्यो ।
तर दोस्रो बर्षमा लिगमा कमजोर नतिजा आत्मसाथ गरेको मनाङले मोफसलका दुई ठुला गोल्डकपलाई जितेर आफुलाई सिद्ध गरेको छ ।
‘अरुले कमजोर भनेका खेलाडीले राम्रो नतिजा दिए । युवा खेलाडीले शतप्रतिशत दिएर खेले ।’ गुरुङ भन्छन्, ‘स्टार खेलाडी चोटको डरले खेल्थे । नयाँ युवा खेलाडीले देखाउछु भनेर खेलिदिए । स्टार खेलाडी राखेरमात्र प्रतियोगिता जितिन्न भन्ने प्रमाणित भएको छ ।’
मनाङले पुर्वका गोल्डकपलाई प्राथमिकतामा राख्दा मोफसलकै ठुलो प्रतियोगिता खप्तड सहित राईनो गोल्डकप गुमायो ।
महिनाको तीन प्रतियोगिता मात्र खेल्न पाउने नियमले मनाङले पुर्वको प्रतिष्ठित माईभ्याली गोल्डकप समेत खेल्न पाएन ।
त्यसो भए लिग र मोफसलका प्रतियोगितामा के फरक रह्यो त ?
‘अनुभवी खेलाडी लिगमा चाहिने रहेछ । मोफसलमा युवा खेलाडीले ज्यान दिएर खेले सकिने रहेछ ।’ महासचिव गुरुङको बुझाई छ ।
यस सिजन मनाङका लागि भारतीय खेलाडी दयानन्द सिंहले डिफेन्समा राम्रो प्रभाव जमाए । दोस्रो रोजाईका अशोक बरालले प्राप्त मौकामा आफुलाई प्रमाणित गरिदिए । एक हिसावले मोफसलका दुई गोल्डकप उपाधिमा उनको भूमिका निर्णायक जस्तै रह्यो । सुरज विक, पुजन उपरकोटी जस्ता जम्दै गरेका खेलाडीले शतप्रतिशत दिएर खेले, नतिजा मोफसलमा देखियो ।
घरेलु फुटबलको सफल क्लब मनाङले आउँदो सिजन बलियो टिम बनाउने लक्ष्य राखेको छ ।
त्यसको छनक आसन्न राष्ट्रिय लिगमा देख्न सकिने क्लबको दाबी छ ।
मनाङले आसन्न लिगलाई हेरेर घरेलु फुटबलका चर्चित फरवार्ड ओलावाले अफिजलाई क्लबमा अनुबन्धन गरिसकेको छ ।
‘क्लबमा तीन–चार खेलाडी नयाँ आउछन् । फरवार्ड राम्रो भएको भए लिगमै नतिजा फरक आउने देखिएको थियो ।’ क्लबमा महासचिव गुरुङ भन्छन्, ‘विदेशी राम्रो फरवार्ड आएको छन् । अब सेन्टर मिडफिल्ड सहित राम्रा विदेशी खेलाडीलाई अनुबन्धन गर्दै टिमलाई बलियो बनाउने छौ ।’