काठमाडौं । एसियाली राष्ट्रको लागि खेलकुदको कुम्भमेला एसियन गेम्सको १८ औं संस्करण इन्डोनेसिया सुरु भएको छ । शनिबार जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा एसियन गेम्सको भव्य उद्घाटन भएको छ ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् । र, ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै ४ हजार कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जनाले मार्चपास सहभागी जनाएका थिए । मार्चपासमा नेपालको झण्डा १० औं दक्षिण एसियाली खेलकुदमा एक मात्र स्वर्ण विजेता भारोत्तोलनका कमल बहादुर अधिकारीले बोकेका थिए ।
नेपाली टोलीको नेतृत्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विकले गरेका थिए । यस्तै नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट,पौडीकी ओलम्पियन गौरिका सिंह लगायतका खेलाडी तथा पदाधिकारी सहभागी भएका थिए ।
नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेमबाङमा हुनेछ।
एसियन गेम्सको उद्घाटन तस्विरमा :
तस्विर : राखेप