काठमाडौं । सातौं संस्करणको रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजले जितेको छ । प्रतियोगितामा कुल ११७ अंक जोड्दै म्याग्दीले उपाधि जितेको हो ।
कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो । सात सदस्य टिम स्पर्धामा ६ जना खेलाडीले खेल्न पाउने नियम रहेको छ । प्रत्येक खेलाडीले एक डोरमा २ तीर निशानामा लागाउने पर्नेमा म्याग्दी मगर समाजका जुलुक पुन,कमल पुर्जा,प्रवेश फगामी र हरि पुनले सतप्रतिशत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०÷२० अंक जोडेका थिए । देब रोकाको एउटा प्रहार चुके पछि १९ अंकको योगदान दिदा तलबहादुर गर्बुजाले दुई निशाना खेर फाल्दै १८ अंक जोडेका थिए ।
थासाङ स्पोर्टस् क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको दोस्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि ११० अंकमा चित्त बुझाएको थियो । त्यस्तै नेपाल जापान सम्पर्क समितिले तेश्रो स्थान कब्जा गदै १०५ अंक जोड्न सफल भयो ।
प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्यालले दोहोरो उपाधि जिते । उनले ब्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोकृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगद प्राप्त गरे । टिम स्पर्धामा २० अंक जोड्ने ७ खेलाडीलाई पछि पादै उनले बिशिष्ट धनुषधरको उपाधि पनि जित्न सफल भए ।
बिजेता टिम तथा खेलाडीलाई थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन,आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा प्रायोजक प्रभु लाईभ इन्स्युरेन्सका खगेन्द्र भट्चन,साग्रीला बिकाश बैंककी ज्योती गौचनलाई सम्मान गरिएको थियो ।
यस्तै थकाली सेवा समिति र थासाङ स्पोर्टस् क्लबले एसियन गेम्समा सहभागि हुन जाने खेलाडीद्धय मिनप्रसाद गौचन र अशिम शेरचनलाई बिदाई गरेको छ । आर्चरीमा पुरुषतर्फ मिनप्रसाद गौचन,अशिम शेरचन,रोशन नगरकोटी र तिलक पुनमगर त्यसतर्फ जादैछन् ।
पुरुषमा ब्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने छ भने उत्कृष्ट एक पुरुष खेलाडीले मिक्स डबलमा पनि प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ भने ज्ञानु अवालेले एकल र मिक्स डबलमा प्रतिस्पर्धा गर्ने छिन् ।