ललितपुर । थापाथली चेस पार्कले तुल्सीलाल स्मृती चौथो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा ललितपुर स्पोर्टस क्लबलाई २.५– १.५ अंकले पराजित गर्दै थापाथलीले उपाधिमा कब्जा जमायो । उपाधिसँगै थापाथलीले एक लाख पचाँस हजार प्राप्त गरेको छ । उपविजेता ललितपुरले ७५ हजार प्राप्त गर्यो ।
फाइनलमा आशिष फुँयाल र फिडेमास्टर बिलमलाल श्रेष्ठबीचको खेल बराबरी भएको थियो । ललितपुरका सजिन महर्जनले राजन पुरीलाई हराए । तर, थापाथलीका शुशील चौधरीले जनार्दन श्रेष्ठ र क्षितिज भण्डारीले बद्रिलाल नेपालीलाई हराएपछि थापाथली च्याम्पियन बनेको हो ।
प्रतियोगितामा गोल्डेनगेट इन्टरनेशनल कलेज तेस्रो भएको छ । गोल्डेनगेटले गजुरमुखी चेस क्लब इलामलाई ३–१ अंकले हरायो । गोल्डेनगेटले ५० हजार हात पार्यो । चौथो भएको गजुरमुखीले ३० हजारमा चित्त बुझायो ।
गोल्डेनगेटका केशब श्रेष्ठले कृष्ण थापा, सुरबीर लामाले फिडेमास्टर मनिष हमाल, भुपेन्द्र निरौलाले प्रकाश नेपाललाई हराएका थिए भने बर्तमान राष्ट्रिय च्याम्पियन मदनकृष्ण कायस्थ रिजेन्द्र राजभण्डारीसित पराजित भए ।
पाँचदिने प्रतियोगितामा जिल्ला बुद्धिचाल संघ भक्तपुरका राजप्रजापति, गजुरमुखीका मनिष हमाल, गोल्डेनगेटका मदनकृष्ण कायस्थ, शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्य र थापाथलीका शुशील चौधरी उत्कृष्ट बन्दै ५/५ हजार प्राप्त गरे ।
तुल्सीलाल स्मृति प्रतिष्ठानसित सहकार्यमा नेपाल बद्धिचाल संघको आयोजना र ललितपुर स्पोर्टस क्लबको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताका विजयी टिमहरुलाई पूर्व श्रम तथा यातायात मन्त्री रघुजी पन्त, तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र मोहन शर्मा लगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा देशभरका २१ क्लब टिमहरुको सहभागिता रहेको थियो ।