एजेन्सी । रुस विश्वकप फुटबल अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा आज इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । दुई राष्ट्रबिचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा सुरु हुनेछ ।
एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशाला हुने इजिप्ट र उरुग्वेबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । किनकि, लामो समयपछि विश्वकपमा फर्किएको अफ्रिकन इजिप्ट र गर्विलो इतिहास बोकेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वे मैदान उत्रदै छन् ।
इजिप्ट र उरुग्वेबीचको भिडन्तलाई दुई स्टारको भिडन्तको रुपमा समेत लिइएको छ । मोहमद सलाह र लुइस स्वारेजबीचको भिडन्त । तर, दुई स्टारले कस्तो प्रदर्शन गर्ने हो त्यो भने हेर्न बाँकी छ ।
इजिप्टका सलाह यो सिजन निकै लयमा छ । तर, च्याम्पियन्स लिग फुटबलको फाइनल दौरान काधमा चोट बोकेका कारण पहिलो खेलमा पूर्ण फिट हुनेमा शंका छ । यता, उरुग्वेका स्वारेज पनि यो उत्तिकै लयमा छन् ।
सम्भावित प्लेईङ ११ (इजिप्ट) : मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, अब्दल्ला सइद, रामादन सोब्ही, मोहमुद हसन, मोहमद सलाह
सम्भावित प्लेईङ ११ (उरुग्वे) : फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जोसे मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, क्रिष्टियन रोर्डिगेज, जर्जियन डि एरेसकेता, इडिसन काभानी, लुइस स्वारेज
प्लेयर्स टु वाच :
मोहमद सलाह ( इजिप्ट )
अहिले सबैको ध्यान रुस विश्वकपमा मोडिएको छ । विश्वकप खेल्न पुगेका छन् ३२ राष्ट्र । रुस पुग्ने टोलीमा एक हो 'इजिप्ट' । इजिप्टसँग जोडिने छन्, स्ट्राइकर मोहमद सलाह । उनै सलाहको जादुमय प्रदर्शनमा इजिप्टले विश्वकप यात्रा तय गरेको हो ।
इजिप्टले २८ बर्षपछि विश्वकप खेल्दै छ । सन् १९९० मा इजिप्टले विश्वकपमा पहिलो सहभागिता जनाउदा सलाह जन्मेकै थिएनन् । तर, युरोपियन फुटबलमा सन् २०१७–१८ सिजन उत्कृष्ट प्रदर्शन गरेका सलाहले पुनः एकपटक इजिप्टलाई विश्वकपसम्म डोराए । र, आज हुने उरुग्वेविरुद्ध सलाहले आफुलाई प्रमाणित गर्ने मौका समेत छ ।
पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका स्ट्राइकर सलाहले विपक्षीको डिफेन्सलाई सहजै पाखा लगाएको पाइन्छ । २६ बर्षे सलाहले यो सिजन लिभरपुलबाट आफुलाई प्रमाणित गरेका थिए । हालै सकिएको इङ्लिस प्रिमियर लिगको यो सिजन सलाहले ३६ खेल खेल्दै ३२ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा १३ खेल खेल्दै १० गोल गरेका थिए ।
च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपछि भने सलाहले विश्वकप गुमाउने शंका बढेको थियो । तर, सलाह पहिलो खेलमा पूर्ण फिट हुने बताइएको छ । सलाहको आज जन्म दिनपनि हो । त्यसैले यी वर्थडे ब्वाईको आज बिशेष दिन बन्ने सम्भावना बलियो छ ।
लुइस स्वारेज (उरुग्वे)
प्राय, फुटबलको प्रत्येक खेलमा एक खेलाडीको प्रभाव रहने गर्छ । रुसमा जारी विश्वकप अन्तर्गत आज हुने इजिप्ट र उरुग्वेबीचको खेलमा पनि एक खेलाडी चम्कने छन् ।
आजको खेलमा चम्कन सक्ने खेलाडी हुन्, उरुग्वेका स्ट्राइकर लुइस स्वारेज । ३१ बर्षिय यी खेलाडी क्लब फुटबलमा स्पेनिस क्लब बार्सिलोनाबाट खेल्छन् । यो सिजनको स्पेनिस लिगमा स्वारेजले ३३ खेलमा २५ गोल गरेका थिए ।
सन् २०१० को विश्वकपमा बाहिरी व्यवहारले चर्चामा आएका स्वारेजले विश्वकपको छनोटमा १३ खेलमा पाँच गोल गरेका थिए । त्यसैले स्वारेजले इजिप्टविरुद्ध आफ्नो लयको प्रभाव छाड्ने सम्भावना बलियो छ । यदी स्वारेज चम्किए इजिप्टका डिफेन्डरलाई रोक्न हम्मेहम्मे पर्ने छ ।