काठमाडौं । दोस्रो मिष्टर एभरेष्ट बडि विल्डिङ च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ । आयोजक नेप्लिज फेडेरेशन अफ बडि विल्डिङ एण्ड फिटनेश संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार हुने जानकारी गराएको हो ।
प्रतियोगितामा देशभरबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने संघका उपाध्यक्ष दिनेश अमात्यले जानकारी गराए । राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुने प्रतियोगितामा शुक्रबार प्रि जजिङ राउण्ड र शनिबार फाइनल चरणको खेल हुनेछ । प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुल खुशीबुमा संचालन हुनेछ ।
प्रतियोगितामा मेन्स बडि विल्डिङ र मेन्स फिजिक्स तथा वुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स बडि विल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी भन्दामाथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्
मेन्स फिजिक्स तर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यता महिला फिटनेशतर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दा माथी हाइट भएका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ओभरल विजेताले नगद ३ लाख रुपैया प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न समूहका विजेताले पनि नगद पुरस्कार पाउने छन् । यसै प्रतियोगिता मार्फत पहिलो पटक नेपालमा आयोजना हुन लागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ ।
त्यस्तै प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसिपमा पनि सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।