चितवन । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा बैठक आज बस्दैछ ।
चीतवनको सौराहमा बस्न लागेको संघको विशेष साधारण सभाले विधान संशोधन लगायत विभिन्न नियमावली पारित गर्ने एजेण्डा तय गरेको छ ।
गत बैशाखमा काठमाडौंमा भएको साधारण सभाबाट एन्फामा नयाँ नेतृत्व सहितको कार्यसमिति चयन भएको थियो ।
तर अहिलेको विधान तथा नियमावलीले संघको काम कारबाही अघि बढाउन नसकिएको बताउदै नयाँ कार्यसमितिले निर्वाचन भएको तीन महिनामा संघको विशेष साधारण सभा बैठक बोलाएको हो ।
आजको बैठकले विधान संशोधन सहित आर्थिक तथा कर्मचारी नियमावली पारित गर्ने तयारी गरेको छ । यस्तै एन्फा सञ्चालन सम्बन्धि नियमावली समेत बैठकको एजेण्डा छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले खेलकुद ऐन आउने क्रममा रहेको भन्दै विधान संशोधनको एजेण्डा तत्काल अघि नबढाउन एन्फालाई आग्रह गर्दै पत्र पठाएको थियो ।
तर एन्फा कार्यसमितिको बैठकले राखेपको पत्रको मर्मलाई आत्मसाथ गर्दै विधान परिमार्जनकालागि साधारण सभामा लैजाने निर्णय गरेको छ ।