काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचन र ब्याडमिन्टन खेलाडी शोभा गौचन सम्मानित भएका छन् । थासाङ स्पोर्टस क्लबले सोमबार भेट्रान क्रिकेटर शक्ति र शोभालाई सम्मान गरेको हो ।
क्लबले सातौं थासाङ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटन समारोहमा आफ्नो समाज अन्तर्गतका दुई खेलाडीलाई सम्मान गरेको हो । बलर शक्तिले गत महिना नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । गत साता नेपालले ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेपछि शक्तिले सन्यास लिएका हुन् । शोभा भने अहिले राष्ट्रिय टोलीमा रहेकी छिन् । दुवैलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले सम्मानपत्र प्रदान गरे ।
यस्तै क्लबको आयोजनामा जारी धनुषवाण प्रतियोगिताको पहिलो दिन ब्यक्तिगतका खेलहरु संचालन भईरहेको छ । अन्तिम दिन भने टिम इभेन्टका खेलहरु संचालन भइरहेका छन् ।
भाद्र १ गते सम्म संचालन हुने प्रतियोगितामा ब्यक्तिगततर्फ ५० जना खेलाडीको सहभागिता रहेको छ । टिम स्पर्धामा १३ टिमको सहभागिता रहेको छ ।