काठमाडौं । पाँचौ संस्करणको ढोरपाटन पुरुष भलिबल प्रतियोगिता भदौ अन्तिम साताबाट हुने भएको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै पाँचौ ढोरपाटन एम १५० पुरुष भलिबल भदौ ३० देखि असोज ६ गतेसम्म हुने जानकारी गराएको छ ।
नेपाल भलिबल संघको संयोजन तथा यति ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक कमिटिका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।
नयाँ बसपार्कस्थित क्लबको भलिबल कोर्टमा लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको बिजेताले १ लाख प्राप्त गर्ने छन् । यस्तै उपबिजेताले ६० हजार र तेस्रो हुनेले ५० हजार पाउने आयोजकले जनाएको छ ।
ब्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले पनि पुरस्कार पाउनेछन् । ब्यक्तिगत विधा उत्कृष्ट स्पाईकर, ब्लकर, क्वीक, डिफेन्डर, सर्भर, लिफ्टर र प्रशिक्षकलाई समान ५/५ हजारले पुरस्कृत गरिने छ ।
यस्तै प्रतियोगिता हेर्न जाने एक भाग्यमानी दर्शकले स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै ८ जना दर्शकले डाइमण्ड मोबाइल र ८ दर्शकले नै इजी टिसर्ट पाउने आयोजकले बताएको छ ।
प्रतियोगिताको लागि आयोजक ढोरपाटन र मुख्य प्रायोजक यतिले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतासंगै यतिले अब ढोरपाटनलाई ५ लाख नगद उपलब्ध गराउने छ । यस्तै प्रतियोगिताको सह प्रायोजकमा आईएमई प्रालि र बीजी मल रहेका छन् ।
त्यसबाहेक प्रतियोगितामा दोस्रो हुनेले पाउने ५० हजार पुरस्कारलाई शान्ति दोहोरी साँझका दीपक कुँवरले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष छन्त्यालले महिलाको प्रतियोगिता धेरै भईरहेको अवस्थामा पुरुष भलिबललाई अघि बढाउन प्रतियोगिता आयोजना गरेको बताए ।
यस्तै नेपाल भलिबल संघका महासचिब जितेन्द्र चन्दले रोकिएको पुरुष भलिबल सुरु हुनु खुसीको कुरा रहेको बताए ।