काठमाडौं ।
शीर्ष डिभिजन लिग जोड तोडका साथ चलेको छ । तर हेर्ने दर्शक छैनन् ।
खेलाडी छन्, खेल छ, तर आकर्षण छैन ।
फुटबल हाक्ने एन्फा तनावमा छ ।
ठुला भनिएका क्लबले टालटुले खेलाडी बटुलेका छन् ।
मनाङ र थ्री स्टार लिगका सधैका दाबेदार हुन् । स्टारहरुको भिडनै उनीहरुको परिचय हो, पहिचान हो ।
तर दुवै क्लबले बेन्चका खेलाडी पहिलो रोजाईमा उतारेर लिग गुजारेका छन् ।
यो भन्दा भद्दा मजाक अरु के हुन सक्छ ?
गत सिजन लिग भयो । तर रेलिगेशन बिनाको ।
जब रेलिगेशननै हुदैन, लिगको के अर्थ ?
यसपटक रेलिगेशन छ, तर मात्र एक टिम झर्छ ।
जब १४ क्लब लिगमा उत्रन्छन् अनि एक टिम मात्र रेलिगेशन पर्छ भने त्यो लिग कस्तो हुन्छ ?
ए डिभिजन लिगको चालू सिजन हेरे पुग्छ ।
सबै उत्तर त्यही भेटिन्छ ।
घटुवा हुने क्लब जब एउटामात्र हुन्छ, तब शीर्ष डिभिजनमा टिक्ने सम्भावना प्रवल रहन्छ ।
जब टिक्ने सम्भावना प्रवल रहन्छ, अनि क्लबले किन लगानी गर्ने ?
लगानी नगरे राम्रा खेलाडी पाईदैन । राम्रो खेलाडी नभए स्तरीय खेल देखिदैन ।
स्तर बिनाको खेल हेर्न दर्शक किन आउने ?
किन २ सय र ५ सयको टिकट काट्ने ?
किन समय खर्चिने ? किन फुटबल हेर्ने ?
एन्फाले बुझ्न पर्ने कुरा ।
दर्शक पुरस्कारले हैन, खेलको स्तरीयताले भरिन्छन् ।
गणेश थापाले दशक बढी फुटबल खेले । करिब दुई दशक फुटबल चलाए ।
थापाले चलाएको फुटबल धेरैले रुचाएनन् ।
सनकको भरमा उनले फुटबलमा धेरै प्रयोग गरे ।
धेरैले हाँसेरै त्यसको प्रतिवाद गरे ।
धेरैको टिप्पणी थियो, थापाले चलाएको फुटबलमा खोक्रो छ । आवरण छ तर आत्मा छैन ।
ठ्याक्कै तासको महल जस्तो ।
जुन दिन एक पत्ता ब्रिगियो, खेल खत्तम ।
समय यस्तो पनि आयो, फुटबलको नेतृत्वबाट थापा फालिए ।
शुसासन र विकेन्द्रिकरणको नारा सहित नयाँ नेतृत्व एन्फामा उक्लियो ।
तर मैदान बाहिर र भित्र फुटबलको शासन प्रणालीमा खासै अन्तर भेटिदैन ।
फुटबलको सफलतालाई नाप्ने मुख्य दुई आधार छन् ।
एक, घरेलु लिगको संरचना । दोस्रो, अन्तराष्ट्रिय सफलता ।
लाग्छ, पुरानै लिगको अवधारणा र ढाँचालाई घरेलु फुटबलमा जवर्जस्त लाद्न खोजिदैछ ।
नेतृत्व नयाँ छ, तर फुटबल पुरानै ।
हैट, कस्तो नसुहाउँदो ।
फुटबल बिज्ञान हो । त्यो भन्दा बढी अर्थशास्त्र ।
फुटबलमा व्यवसायीकरणको नारा घन्किन थालेको दशकौ भैसक्यो ।
व्यवसायीकरण भन्या के ?
सोझो उत्तर, पैसा अनि लगानी ।
तर घरेलु फुटबलमा क्लबको लगानी र एकाध प्रायोजकको खोजी गरिदिएर एन्फाले दिने व्यवसायीकरणको नारा उदेकलाग्दो साविक हुदैछ ।
एन्फाले लिगको तयारी खर्च भन्दै ए डिभिजनका प्रत्येक क्लबलाई २० लाख तयारी खर्च दिन्छ । प्राय क्लबका २० लाख माथिका प्रायोजक भेट्छन् ।
चन्दा, सहयोगबाट ५–१० लाख निस्कन्छ ।
५० लाख हाराहारीको बजेट तयार बन्छ । चार महिना खेलाडी राख्ने पैसा क्लबमा जुट्छ । बाँकी हिसाब कैफियतमा राखेर क्लबहरु लिग रणसंग्राममा उत्रन्छन् ।
न घाटा, न नाफा । क्लब यसरीनै बाँचेका छन् ।
धेरै समय भो, खेल, खेलाडी र फुटबल यसरीनै चलेको छ ।
क्लब चलेका छन् । क्लबका पदाधिकारी चलेका छन् । क्लबको भोट चलेको छ । फुटबलको राजनीति चलेको छ ।
चार महिना खेलाडी राखेर क्लब चल्न सक्लान् । राजनीतिक चल्न सक्ला ।
तर खेलाडीको जिवन चल्न सक्दैन ।
फुटबल चल्न सक्दैन ।