काठमाडौं । सेन्टर जोन महिला भलिबलबाट सलिना श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गरिन् । डेब्यु खेलमै उनको प्रर्दशन सनसनीपुर्ण रह्यो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले ऐतिहासिक उपाधि जित्यो । सलिना त्यसको महत्पुर्ण हिस्सा थिईन् ।
सलिना त्यसयता राष्ट्रिय टिममा नियमित छिन् । होचो कदकी लिब्रोले घरेलु भलिबलमा छुट्टै छाप छाड्न सफल भएकी छिन् ।
उनकै प्रर्दशन प्रेरित नेपाल साग भलिबलमा पहिलो पटक फाईनल प्रवेश गर्यो । सागको सुरुवाती तीनै खेलमा उनको प्रर्दशन गज्जबको थियो ।
नेपालले महिला भलिबलमा स्वर्णको लक्ष्य राखेको छ । पहिलो पटक साग खेल्ने अवसर पाएकी सलिनाले डेब्युमै आफुलाई प्रमाणित गरेकी छिन् । र ऐतिहासिक स्वर्ण पदक नजिक छिन् ।
उनको उचाई ४ फिट ९ इन्च छ । भलिबलका लागि त्यो सुहाउने उचाई हैन । तर कोर्टमा देखिने त्यही होचो कदले दर्शकको मन भने जितेको छ । उनको प्रर्दशन उच्च छ ।
‘पहिलो पटक साग खेल्न पाएको थिए । फेरि पहिलो पटक फाइनल पनि पुगेका छौं । एकदमै खुसी छु । रमाइलो लागिरहेको छ ।’ फाइनल पुगेपछि खेलपाटीसँग उनले भनिन् ।
शनिबार राखेपको कबर्डहलमा नेपालले बलियो मानिएको श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।
घरेलु दर्शकलाई साक्षी राखेर नेपाल फाईनल प्रवेश गर्यो ।
नेपालले महिला भलिबलमा ऐतिहासिक रजत पदक पक्का गर्दा सलिना खेलकी नायक जस्तै थिईन् ।
गत महिना नेपालले भलिबल ईतिहासमा एतिहासिक उपाधि हात पार्यो । त्यही प्रतियोगिताले जन्माएकी खेलाडी हुन्, सलिना । त्यसयता उनी नेपालको प्रर्दशनको मुख्य आधार बन्दै आएकी छिन् ।
सन् १९९१ श्रीलङ्का भएको पाँचौ सागपछि नेपालले महिला भलिबलमा सहभागीता जनाउँदै आएको छ । यसअघि सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको नेपालले त्यसपछि माथि उक्लिन सकेको छैन ।
महिला भलिबलको खेलाडी उत्पादनको केन्द्र मानिएको न्युडायमण्ड एकेडेमीकी उत्पादन हुन्, सलिना । त्यसैले उनी हरेक सफलतामा गुरु कुमार राईलाई सम्झिन्छिन् ।
‘सरले (कुमार राई)ले डिफेन्सबाट लिब्रो बनाउनु भयो । सात बर्ष सिके । सात कक्षाबाट सिक्न थालेको हुँ । गुरुकै प्रेरणाले यहाँ सम्म आईपुगे ।’ सलिना भन्छिन् ।
आफ्नो चेलीको प्रर्दशनमा कुमार राई समेत हर्षित छन् ।
‘सानोमै आएकी थिईन् । घरपरिवार खेल्न भन्दा पढाउन चाहन्थे । मैले खेलमै केन्द्रित गरे । जसले ठुलो उपलब्धि हासिल भए जस्तो लाग्छ । पहिलो पटक देशलाई स्वर्णको बाटोमा पुर्याएकी छिन् । यो गौरवको बिषय हो ।’ उनी भन्छन् ।
सलिनाले हालसम्म देशको लागि ८ खेलमात्रै खेल्न पाएकी छिन्, सेन्टर जोनमा ५ र सागमा ३ खेल । तर दुवै प्रतियोगितामा उनले ऐतिहासिक उपलब्धी हात पारेकी छिन् ।
नेपालको स्वर्ण यात्रामा मुख्य चुनौती भारत हो । समूह चरणमा नेपालले भारतसंग नमिठो हार ब्यहोर्यो । श्रीलंकाविरुद्वको जितले भारतलाई हराउँदै स्वर्ण जित्ने आत्मविश्वास पलाएको सलिना बताउँछिन् ।
‘यसअघि भारतसँग खेलेका थिएनौं । उसको खेल हेरेको थिएनौं । त्यसैले पहिलो खेलमा दबाबमा आयौं ।’ सलिना भन्छिन् ।
‘अब भारतको खेल हेरिसकेका छौं । सक्दो राम्रो गर्ने हो । यसअघिको भन्दा राम्रो गर्छाै । फाइनलमा उत्कृष्ट नतिजा दिन्छौं । पक्कै स्वर्ण जित्नेछौ ।’ उनी भन्छिन् ।