काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले भारतविरुद्ध कमजोरी सुधार गर्दै १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को ओझो सेटमा पराजित गर्दै रजत पदक पक्का गरेपछि प्रशिक्षक भट्टले फाइनलमा टिमको प्रदर्शन सुधार गर्दै स्वर्ण जित्ने बताए ।
'हामीले पहिलेबाटै स्वर्ण जित्छौ भन्दै आएका छौँ । अब अझै दुई दिन बाँकी छ । हामी फाइनलमा कमी कमजोरी सुधार गर्दै स्वर्णका लागि भिड्ने छौ,' प्रशिक्षक भट्टले भने ।
पहिलो पटक सागको फाइनल पुग्ने क्रममा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकालेको थियो ।
प्रशिक्षक भट्टले श्रीलंकामाथिको जितले खेलाडीको मनोबल बढेको समेत बताए ।
'हामीले फाइनल पुग्न खेलेका थियौ । हामीले पहिला धेरै कठिनाईहरु भोगेका थियौ,' प्रशिक्षक भट्टले भने, 'सबैको सहयोगबाट नै यहाँसम्म आइपुगेका छौ । यो जितसँगै खेलाडीको मनोबल बढेको छ ।'
प्रशिक्षक भट्टले श्रीलंका बलियो टिम भएको भएपनि आफ्ना खेलाडीले उत्कृष्ट खेलेको बताए ।
'श्रीलंकाको टिमपनि राम्रो टिम हो तर हाम्रो खेलाडीले अझ् राम्रो खेले । दर्शकहरुको सर्मथनलाई आत्मसाथ गरेर फाइनल खेल खेल्छौ,' भट्टले थपे ।
यस्तै प्रशिक्षक भट्टले नेपाली टिम एसियाको टप टिम बन्ने सम्भावना बलियो रहेको बताए ।