काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको आशा बढेको बताएकी छिन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को ओझो सेटमा पराजित गर्दै रजत पदक पक्का गरेपछि अरुणाले स्वर्ण जित्ने सम्भावना बढेको बताएकी हुन् ।
'हामी धेरै खुशी छौ । हामीले ४/५ महिना प्रशिक्षण गरेको फल पाएका छौ,' जितपछि अरुणाले भनिन्, 'यो जितले हामीमा स्वर्णपदक ल्याउछौं भन्ने आशा बढेको छ । सबैको सहयोगमा हामीले मैदानमा फल पाएका छौ ।'
पहिलो पटक सागको फाइनल पुग्ने क्रममा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकालेको थियो ।
यस्तै कप्तान अरुणाले फाइनलमा भारतसँग उत्कृष्ट प्रदर्शन गर्ने बताईन् ।
'अब हामी भोलि उत्कृष्ट प्रर्दशन गरेर स्वर्ण पदकको लागि भिड्नेछौ । उनीहरुले पनि आज राम्रो प्रर्दशन दिएका थिए,' अरुणाले थपिन ।
अरुणाले घरेलु कोर्टमा दर्शकको समर्थनले टोलीलाई उत्प्रेरणा मिलेको समेत बताईन् ।
'हामीलाई दर्शकहरुको राम्रो सहयोग थियो । हामीलाई उत्प्रेरणा मिल्यो । थप प्रेरणा पनि पायौ त्यसैले खेल्न सजिलो भयो,' अरुणाले भनिन्, 'रजत पदक पक्का भइसकेको छ । अब हामी भारत सँग बिना दबाब खेल्छौ र स्वर्णका लागि नै खेल्छौ ।'