काठमाडौं । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।
पहिलो पटक सागको फाइनल पुग्ने क्रममा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को जित निकालेको थियो ।
नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक २० अंक जोडिन । यस्तै सरस्वती चौधरीले १७ अंक जोडिन ।

श्रीलंकालाई हराएसँगै नेपाली महिला भलिबलले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ ।
अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएर फाइनल पुगिसकेको छ ।
फाइनल खेल मंगलबार हुनेछ । पुरुषतर्फ भने नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।
साग भलिबल अन्तर्गत आइतबार पुरुषको सेमिफाइनल खेल हुनेछ । बिहान ११ बजेपछि हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ ।
यस्तै दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।



