काठमाडौं । पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तानले सुरुवाती सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो सेट ३०-२८ ले गुमाएको पाकिस्तानले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो ।
पाकिस्तानले दोस्रो सेटमा २५-१८, तेस्रो २५-२० र अन्तिम सेट २५-२१ ले जितेको थियो ।
जितसँगै पाकिस्तानले समूह 'बी' बाट २ खेलमा ४ अंक जोड्यो । श्रीलंकाले २ खेलमा २ अंक जोड्यो । श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । यस समूहबाट दुवै खेल गुमाएको माल्दिभ्स बाहिरिएको छ ।
अब पाकिस्तानले सेमिफाइनलआम समूह 'ए' को उपविजेता बंगलादेशसँग खेल्नेछ । यस्तै श्रीलंकाले समूह 'ए' को विजेता भारतसँग खेल्नेछ ।
पुरुष भलिबलको सेमिफाइनल खेल आइतबार हुनेछ । पुरुष भलिबलमा आयोजक नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।