काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले सेमिफाइनलमा बलियो टिम श्रीलंकालाई हराउँदै फाइनल पुग्ने योजना रहेको बताएका छन् ।
घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनल अघि खेलपाटीसँग कुरा गर्दै बलियो श्रीलंकालाई हराउने टिमको योजना रहेको बताए ।
नेपालले श्रीलंकालाई यस अघि पनि हराईसकेको कारण सेमिफाइनल अघि टिमको मनोबल उच्च रहेको प्रशिक्षक भट्ट बताउछन् ।
'श्रीलंकासँग खेल्न खेलाडी तयार छ । मानशिक रुपमा समेत खेलाडी तयार भईसकेका छन्,' प्रशिक्षक भट्टले भने, 'हामी श्रीलंकालाई जितेर फाइनल पुग्ने योजनामा छौँ ।'
सागमा स्वर्ण जित्ने लक्ष्य लिएको नेपाल समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । श्रीलंका भने समूह 'बी' विजेता बनेको थियो ।
दक्षिण एसियामा भारतपछि महिला भलिबलमा श्रीलंका बलियो मानिन्छ । तर, घरेलु कोर्टमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक भट्टलाई विश्वास छ ।
'हामीले श्रीलंकालाई साउथ एसियन च्याम्पियनसिपमा हराएका थियौं । हामी श्रीलंकालाई ९९ प्रतिशत हराउँन सक्छौं । कहिले काहिँ १ प्रतिशतले फरक पार्न सक्छ,' प्रशिक्षक भट्टले थपे, 'तर, हाम्रा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने छन् ।'
सन् २०१४ मा काठमाडौंमा भएको साउथ एसियन च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराएको थियो ।
यस्तै प्रशिक्षक भट्टले श्रीलंकाविरुद्ध खेलाडी परिवर्तन गर्दै खेल्ने रणनीति बनाएको समेत बताए ।