काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका उपकप्तान कुल बहादुर थापा (हरि) ले बंगलादेशसँगको हार नै साग खेलकुदको समूह चरणबाट बाहिरिने मुख्य कारण रहेकाे बताएका छन् ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार भारतसँग ३-० को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि बोल्दै थापाले नेपाल बाहिरिनुको कारण बंगलादेशसँगको हार रहेको बताए ।
'बंगलादेशलाई हराएको भए सेमिफाइनल पुग्ने मौका थियो । तर, बंगलादेशसँग हार्नु नै र्दुभाग्य बनेको छ,' थापाले भने ।
यस्तै उपकप्तान थापाले भारतविरुद्ध खेलाडी नर्भस भएको बताए ।
'हामीले तेस्रो सेटमा धेरै राम्रो खेल्यौ जस्तो लाग्छ । मैत्रीपूर्णमा भारतसँग धेरै राम्रो खेलेका थियौ तर आज खेल्न सकेनौ । खेलाडी नर्भस भए,' उनले थपे ।
यस्तै उपकप्तान थापाले खेलाडीलाई बाह्रै महिना प्रशिक्षण र राम्रो प्रशिक्षकसँग प्रशिक्षण गर्न पाए नेपालले केहि वर्षमा भारतलाई हराउन सक्ने बताए ।