काठमाडौं । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा नेपाल भारतसँग २५-१५, २५-१३ र २५-१६ ले पराजित भयो ।
नेपालले बलियो भारतविरुद्ध कुनै पनि सेटमा चुनौती दिन सकेन । नेपालका लागि धन बहादुर भट्टले सर्वाधिक ७ अंक जोड्दा राजेन्द्र बिष्टले ६ अंक जोडे ।
नेपाललाई हराएसँगै भारत समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले २ खेलमा ४ अंक जोड्यो ।
यस समूहबाट बंगलादेश २ खेलमा २ अंक जोड्दै उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले दुई खेलमा हार व्यहोर्दै अंक जोड्न सकेन् । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो । पहिलो सेट जितेपनि नेपालले बंगलादेशसँगको खेल गुमाएको थियो ।
महिलातर्फ भने नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।