काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
स्वर्ण दाबेदार भारतविरुद्ध पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल दोस्रो र अन्तिम सेटमा भने सहजै पराजित भयो ।
पहिलो सेटको सुरुवातमा अग्रता बनाएपनि नेपालले २६-२४ ले गुमाएको थियो । भारतविरुद्ध नेपालले निकालेको यो नै अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।
त्यसपछि भारतले नेपाललाई दोस्रो सेटमा २५-१२ र अन्तिम सेटमा २५-१६ ले सहजै पाखा लगायो ।
भारतविरुद्ध नेपालका लागि प्रतिभा मालीले सर्वाधिक १६ अंक जोडिन । यस्तै सरस्वती चौधरीले ११ अंक दिलाईन् ।
नेपाललाई पराजित गरेसँगै भारतले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । जितपछि समूह 'ए' को भारतले १ खेलमा २ अंक जोडेको छ ।
नेपालको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको नेपालले २ खेलमा २ अंक जोडेको छ ।
अब शुक्रबार हुने समूह चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको तय हुनेछ ।
शुक्रबार यस समूहको अन्तिम खेलमा भारतले बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा भारतले जित निकालेमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
समूह 'बी' अन्तर्गतको खेलमा श्रीलंकाले वाक ओभर पाएको छ । पाकिस्तान नआएपछि श्रीलंकाले अंक पाएको हो ।