काठमाडौं । नेपाली भलिबलकै सर्वाधिक पुरस्कार राशीको 'आधीआवाधी महिला भलिबल लिग' आगामी अक्टोबरमा काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघ र आधीआवाधी महिला फाउन्डेसनको संयुक्त आयोजनामा अक्टोबर पहिलो साता आधीआवाधी महिला भलिबल लिग हुने भएको हो ।
नेपाल भलिबल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै अक्टोबर १ देखी ६ सम्म हुने आधीआवाधी महिला भलिबल लिगमा ६ टोलीको सहभागिता रहने जनाएको छ ।
लिगमा त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, काठमाडौं क्वीन्स, चितवन टाइगर्स र पोखरा पिन्केज गरी ६ फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् । विभागीय टोलीबाहेक अन्य टोलीको टिम र खेलाडी छनोट गरेर टिम तयार गरिनेछ ।
अर्को संस्करणबाट टिम बढाइने बताइएको छ । प्रत्येक टिममा ४ विदेशी खेलाडी राख्न पाइने छ भने ३ खेलाडी कोर्टमा उतार्न पाइने छ ।
लिगको बिजेताले ६ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको एक सर्वोकृष्ट खेलाडीले टिभिएस स्कुटर र ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि संघले भारतको नयाँदिल्लीको गैरसरकारी संस्था आधीआवाधी फाउन्डेसनसंग १० बर्षे सम्झौता गरेको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आधीआवाधी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै आधीआवाधीले संघलाई बार्षिक १५ लाख उपलब्ध गराउनेछ । यस्तै बाँकी रकम आधीआवाधीले भारतबाट र नेपालका प्रायोजकहरुसंगको सहकार्यबाट उठाइने बताईएको छ । त्यस्तै आधीआवाधीले रेफ्री स्ट्यान्ट, कभर, म्याट लगायतको समाग्री उपलब्ध गराउनेछ ।