काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका कप्तान ईम राना मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा सर्भिस बिग्रदा बंगलादेशसँग पराजित भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।
'हामीलाई जित्नै पर्ने थियो तर भएन । हाम्रो टिमको रिसिभ राम्रो भयो । तर, सर्भिसमा गल्ति भयो । जसले हामीलाई गार्हो भयो,' ईमले भने ।
घरेलु समर्थकको साथ पाएको नेपाल बंगलादेशसँग २५-२१, २३-२५, २५-१९, २५-२६ र १२-१५ को सेटमा पराजित भयो । हारसँगै नेपालको सेमिफाइनल सम्भावना समेत कमजोर बनेको छ ।
अब सेमिफाइनल पुग्न भारतलाई हराउँनै पर्ने बाध्यता रहेको छ ।
तर, कप्तान ईमले पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा भारतविरुद्ध उत्कृष्ट खेल्ने लक्ष्य रहेको बताए ।
'भारतविरुद्ध राम्रो खेल्छौ । भारतको स्तर धेरै राम्रो छ, हामी भारतलाई हराउने भन्दा पनि राम्रो खेल्ने प्रयास गर्छौं,' कप्तान ईमले भने ।
यस्तै ईमले प्रशिक्षक परिवर्तनको असर समेत टिममा परेको बताए ।
'बंगलादेशको प्रशिक्षक निरन्तर छन् । हाम्रो परिवर्तन भईरहेको छ । जसले गर्दा गार्हो भयो,' कप्तान ईमले भने, 'डी जोङ ल्याउन ढिला भयो । ल्याउने नै भए चाडो ल्याउनु पर्थ्यो । नयाँ टेक्निक हामीले फलो गर्न सकेनौं ।'