काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका मुख्य प्रशिक्षक लेस्ले डी जोङले खेलाडीलाई खेलमा उर्जा बढाउन समर्थकसँग आग्रह गरेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा १३ औं साग अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमा बंगलादेशसँग खेल्नु अघि डच प्रशिक्षक डी जोङले खेलाडीको उर्जा बढाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
खेल अघि वार्म अपको समय दर्शक दिर्घामा पुगेर डी जोङले प्लेकार्ड मार्फत खेलाडीलाई उर्जा दिन अपिल गरेका हुन् । उनले नेपालीमै उर्जा लेखेको प्लेकार्ड दर्शक सामु देखाउँदै उर्जाको लागि अपिल गरिरहेका थिए ।
केहि दिन अघि खेलपाटीसँग बोल्दै उनले नेपालीमै 'हाम्रो खेल हेर्न आउनस्, खेलाडीको उर्जा बढाउनुस' भनेका थिए ।
यस अघि इन्डोनेसियाको जाकर्ता र पेलेवाङ्गमा भएको १८ औं एसियालीखेलकुदमा उनले नेपाली टिम हेरेका थिए । उनले १८ औं टिम सहभागी प्रतियोगितामा नेपाललाई १५ औं स्थान दिलाएका थिए ।