काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलको प्रतिस्पर्धा भोलि (बुधबार) बाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाली महिला टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
गत महिना बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनको उपाधि जितेर ऐतिहासिक सफलता हार पारेको महिला टिम घरेलु भूमिमा स्वर्ण जित्दै अर्को ऐतिहासिक सफलता हात पार्ने योजनामा रहेको छ ।
महिला टिममा मुख्य प्रशिक्षक जगदीश भट्टले सागमा बलिया प्रतिद्वन्दीलाई पराजित गर्दै स्वर्ण जित्नेमा आफु विश्वस्त रहेको बताए । प्रशिक्षक भट्टले नेपालका लागि बलियो प्रतिद्धन्द्धी भारत र श्रीलंका रहेको तर दुवै टिमलाई स्तब्ध बनाएर स्वर्ण जित्ने दाबी गरे ।
‘भारत र श्रीलङ्का हाम्रो बलियो प्रतिद्धन्द्धी हो । तर, हामीले उनीहरुलाई हराएर बंगलादेशमा हात पारेको ऐतिहासिक सफलतालाई दोहोर्याउने छौ । नेपाललाई ऐतिहासिक पदक दिनेछौ,’ प्रशिक्षक भट्टले भने ।
बंगलादेशको ढाकामा नेपालले अपराजित रहदै सेन्ट्रल जोनको उपाधि जितेको थियो । उक्त प्रतियोगितामा भारत र श्रीलंका खेलेका थिएनन् । तर, घरेलु भूमिमा नेपाल जुनै प्रतिद्वन्दी आएपनि बंगलादेशको सफलतालाई कायम राख्न चाहन्छ ।
‘हाम्रो धेरै ठूलो लक्ष्य, चुनौती छ त्यसैले अहिल्यै हामीले खेलभन्दा अगाडि सेलिब्रेसन गर्नुपर्ने छैन । हामीले बंगलादेशमा हात पारेको सफलतालाई कसरी जर्गेना गर्ने भन्ने कुरामा हाम्रो ध्यानाकर्षण गर्छाै,’ प्रशिक्षक भट्ट भन्छन्, ‘हामीले भारतको प्रत्येक खेलाडीहरुलाई विश्लेषण गरेका छौ । त्यो कुरालाई हामीले पछ्याएर मैदानमा उत्रिन्छौ । खेलाडीले आफ्नो मानसिकता अनुसार उत्कृष्ट प्रर्दशन गरे हामी भारतलाई हराउन सक्छौ ।’
प्रशिक्षक भट्टले खेलाडीहरु जितका लागि मानसिक रुपमा तयार रहेको समेत बताए ।
‘हामीले विगतमा गरेको प्रर्दशनमा सुधार गरेका छौँ । जित्नका लागि विगतका तयारी र अहिलेको तयारीका साथसाथै खेलाडीको क्षमतामा विकास भएको छ र मानसिक रुपमा तयार छन् । घरेलु मैदानमा हुने खेलको लागि हामी उच्च मनोबलको साथ उत्कृष्ट प्रर्दशन गर्नेछौ,’ प्रशिक्षक भट्टले भने ।
यस्तै नेपाली टिमकी कप्तान अरुणा शाहीले घरेलु मैदानमा स्वर्णपदक जित्न निकै आतुर रहेको बताईन् ।
‘आफ्नै घरेलु मैदानमा हुन लागेको सागमा स्वर्णपदक राख्न म धेरै आतुर छु । हामी सबै स्वर्ण पदक राख्न उत्साहित र आतूर छौ,’ अरुणाले भनिन् ।
अरुणाले टिमको तयारी राम्रो भइरहेको र खेल पनि सुधारिएकोले प्रतियोगिता नेपालले जित्नेमा आत्मविश्वास भएको बताईन् ।