काठमाडौं । भलिबल देशको खेल हो । राष्ट्रिय खेल हो । तर यसको नतिजा कहिल्यै गौरव गर्ने खालको रहेन । अझ पुरुष भलिबलको अन्तराष्ट्रिय उपलब्धी निकै कमजोर देखिन्छ ।
राष्ट्रिय खेल भएपनि राज्यको लगानी भलिबलमा विशेष छैन । जब लगानी छैन भने नतिजाको आशपनि खासै रहदैन ।
भलिबल नेपालको लोकप्रिय खेल हो, सम्पूर्ण नेपालीको खेल हो ।
तर, नेपालको लोकप्रिय खेललाई व्यवसायीक बनाउन नसक्नुका कमजोरीका पाटा धेरै छन् । केही संघभित्रका आन्तरिक कार्यशैली जिम्मेवार होलान्, केही बाह्य लगानीका कुरा । तर भलिबल राष्ट्रिय खेलमात्र हैन, ठुलो सम्भावनाको खेल हो ।
पदकका हिसाबले खासै हामीले ठुलो उपलब्धि हासिल नगरेपनि राष्ट्रिय खेलबाट धेरै आश गर्नुपर्ने खास खास कारण छन् ।
इतिहास :
नेपालले सन् १९७७ मा पाकिस्तानमा आयोजित काइदा आलाम अन्तराष्ट्रिय मैत्रीपूर्ण भलिबलमा पहिलोपटक सहभागिता जनाएको थियो । तर, पहिलो अन्तराष्ट्रिय प्रतियोगिता भने सन् १९८७ मा खेल्यो ।
भारतको कलकत्तामा भएको तेस्रो दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष भलिबलले पहिलोपटक सहभागिता जनाएको थियोे । पहिलो सहभागितामा नेपाल पदक विहिन हुँदै घर फर्किएको थियो । त्यसपछि लगातार सागमा सहभागिता जनाएपनि नेपाल रित्तो हात फर्कनु परेको ईतिहास साक्षी छ ।
यसैबीच नेपालले सन् १९७८ मा थाइल्याण्डको बैंककमा आयोजना भएको आठौं एसियाली खेलकुद प्रतियोगितामा आधिकारीक रुपमा सहभागिता जनाएको थियो ।
सन् १९८२ मा दिल्लीमा र सन् १९८६ कोरियामा १० औं एसियाली खेलकुद प्रतियोगितामा समेत सहभागीता जनाइसकेको छ । यस्तै, सन् २०१९ मा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद प्रतियोगितामा समेत भाग लिइसकेको छ ।
नेपालले सन् २०१५ देखि २०१९ सम्ममा पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता खेलेको थियो ।
सन् २०१७ मा माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोनमा नेपालले ४१ वर्षको इतिहासमा पहिलोपटक कास्य पदक जितेको थियो । योनै पुरुष भलिबलको पहिलो अन्तराष्ट्रिय पदक हो ।
राष्ट्रिय पुरुष भलिबले २०३३ सालमा धनगढीमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागीता जनाएको थियो ।
भर्खरै नेपालमा सम्पन्न एभिसी सेन्ट्रलमा सहभागी भएपनि नेपालले समूह चरणनै पार गर्न सकेन । सो खेलमा नेपालले पाँचौं स्थान प्राप्त गरेको थियो ।
तयारी :
सागलाई लक्षित गरेर नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउनबाट बन्द प्रशिक्षण सुरु गरेको हो । सागलाई लक्षित गरी भलिबल टिम कात्तिकको अन्तिम साता प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि भारतको बैंङ्लोरमा पुगेको थियो ।
बलियो प्रतिस्पर्धी भारतको राष्ट्रिय टिमसँग नेपालले ३ मैत्रीपूर्ण खेल खेलेको थियो ।
भ्रमणको दौरान नेपाली टिमको कमीकमजोरी पनि सुधारिएको प्रशिक्षक विरेन्द्र चौधरीले बताउँछन् ।
‘भारतमा रहँदा साग खेल्ने मध्यको एक उत्कृष्ट टिमसँग मैत्रीपूर्ण खेल खेल्यौ । त्यसमा नेपालको रिसिभ र सर्भिसको कमजोरीलाई सुधारेका छौ ।’ उनले भने ।
नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका डच प्रशिक्षक लेस्ले डि जोङ र विरेन्द्रको समन्वयमा खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
दुवै प्रशिक्षकले टिमको कमजोरी सर्भिस र रिसिभलाई लिएर काम गर्ने योजना भएको बताएका छन् ।
पदकको सम्भावना :
घरेलु मैदानमा दर्शकको सामू खेल्नु नेपालको बलियो पक्ष हो । भारतसँग खेलेको तीन मैत्रीपूर्ण खेलले रिसिभ र सर्भिसमा सुधार देखिएकाले पदकको सम्भावना केही देखिन्छ । नेपाली टिमको शारिरिक र आक्रमण पक्ष राम्रो छ ।
प्रतियोगितामा नेपालले बलिया प्रतिद्वन्दी भारत, पाकिस्तान, श्रीलङ्का तथा बंगलादेशसंग खेल्नेछ । त्यसैले नेपालको स्वर्णको सम्भावना निकै कम देखिन्छ ।
साग खेल्ने पुरुष भलिबल टिम :
ईम राना (कप्तान)
राजेन्द्र विष्ट
धनबहादुर भट्ट क्षेत्री
हरी हजुर थापा
टेकराज अवस्थी
हरी अधिकारी
दुर्गा खड्का
द्वारिका थापा
ईश्वर थापा मगर
विनोद चन्द
विशाल विक
शरण सम्री क्षेत्री
कुलबहादुर थापा