काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले भोलि (बुधबार) थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बुधबार ४ बजेपछि सुरु हुनेछ ।
यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू-१८ विश्व विद्यालय टिमसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
त्यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको थियो ।
तेस्रो खेलमा नेपाल थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस्तै चौंथो खेलमा नेपालले जापानको जुनियर टिमलाई ३-१ को सेटमा हराएको थियो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।