काठमाडौं । राष्ट्रिय भलिबल टिमकी महत्वपुर्ण सदस्य सरस्वती चौधरी घाइते भएकी छिन् ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलकालागि थाइल्याण्ड भ्रमणमा रहेको समय उनले चोट बोकेकी हुन् ।
बिहिबार जापानको जुनियर टिमविरुद्व खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको छ ।
उनको खुट्टाको ‘एङ्कल’मा चोट लागेको बताईएको छ ।
सरस्वतीको चोटको पुष्टि गर्दै प्रशिक्षक जगदीश भट्टले अवस्थामा सुधार भइरहेको जानकारी दिएका छन् । सरस्वती एक साता मैदान बाहिर रहने छिन् ।
‘तीन दिन अघिको जापानसँगको खेलमा सरस्वतीलाई एङ्कलमा चोट लागेको थियो तर अहिले सुधार भइरहेको छ ।’ प्रशिक्षक भट्टले खेलपाटीलाई भने ।
सो खेल नेपालले ३–१ को सेटमा जितेको थियो ।
नेपालले जापानी टिमलाई २५–१५, २०–२५, २५–१६ र २५–११ को सेटमा हराएको थियो ।
सरस्वती राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाईकर हुन् । अग्लो कद र छरितो खेल उनको बिशेषता हो ।
उनकै प्रभावशाली प्रर्दशनमा नेपालले अन्तराष्ट्रिय प्रतियोगिता र विभागीय टिम एपीएफले घरेलु प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
बंगलादेशमा हुने पहिलो एभिसी सेन्ट्रल जोन महिला भलिबल र नेपालमै आयोजना हुन लागेको तेह्रौ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीका लागि नेपालको महिला भलिबल टिम थाईल्याण्डमा रहेको छ ।