काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बिच भलिबलका लागि राष्ट्रिय टिमको घोषणा भएको छ ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणबाट ४ महिला खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीबाट नेपालले शनिबार अन्तिम ४ खेलाडी छनोट गरेको हो ।
सागका लागि महिला बिच भलिबलमा पूर्व राष्ट्रिय भलिबल टिमकी कप्तान समेत रहेकी बिनिता बुढाथोकी, पूर्व राष्ट्रिय टिमका सदस्य कोपिला उप्रेती, नेबिका चौधरी र मनिषा चौधरी छनोट भएका छन् ।
अन्तिम छनोटबाट पुष्पा चौधरी राष्ट्रिय टिमबाट बाहिरिएकी छिन् ।
पुरुषतर्फको साग टिमको घोषणा भने यस अघि नै भएको थियो । पुरुषतर्फ राष्ट्रिय भलिबल टिमका पूर्व सदस्य मान बहादुर श्रेष्ठ, सञ्जु बिक्रम शाह, दिल सुनुवार र राजु विक छनोट भएका छन् ।
यस्तै नेपाल भलिबल संघले बिच भलिबल टिमको विशेष प्रशिक्षण श्रीलंका हुने जनाएको छ । नेपाली टिम नोभेम्बर ३ मा श्रीलंका जाने छन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) यहीं मंसिर १५ देखि २५ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
नेपालले पोखरामा भएको बिच भलिबलको राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।