काठमाडौं । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको राष्ट्रिय महिला भलिबल टिम पाँचौं मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू-१८ विश्व विद्यालय टिमसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।
विश्व विद्यालयको च्याम्पियन समेत रहेको टिमले नेपाललाई २५-२०, २५-२२ र २५-१८ ले पराजित गर्यो ।
नेपाली टोलीको यो मैत्रीपूर्ण खेलमा दोस्रो हार हो । यस अघिका चार मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलमा जित निकालेको छ ।
अब नेपालले बुधबार थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्नेछ ।
हिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको थियो । तेस्रो खेलमा नेपाल थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस्तै चौंथो खेलमा नेपालले जापानको जुनियर टिमलाई ३-१ को सेटमा हराएको थियो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।