काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (शनिबार) पाँचौं मैत्रीपूर्ण खेल खेल्दैछ ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले पाँचौं मैत्रीपूर्णमा थाइल्याण्ड महिला क्लबसँग खेल्नेछ । नेपाल र थाइल्याण्डबीचको खेल अपराह्न ४ बजेपछि हुनेछ ।
यस अघिका चार मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलमा जित निकालेको छ ।
हिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको थियो । तेस्रो खेलमा नेपाल थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस्तै चौंथो खेलमा नेपालले जापानको जुनियर टिमलाई ३-१ को सेटमा हराएको थियो ।
थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।