काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (मंगलबार) तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको यू-२१ टिमसँग खेल्नेछ । नेपाल र थाइल्याण्ड यू-२१ बीचको खेल अपराह्न ४ बजेपछि हुनेछ ।
यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको थियो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको थियो ।
थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ । जस अन्तर्गत नेपालले बिहिबार जापानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।