काठमाडौं । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको मुख्य प्रशिक्षक जगदीश भट्टले खेलपाटीलाई जानकारी गराए ।
नेपालले युनिभर्सिटी टिमलाई २५-२१, २४-२६, २५-१६ र २५-१९ को सेटमा पराजित गरेको हो ।
निकै बलियो टिम युनिभर्सिटीविरुद्ध जित निकालेपछि टिमको प्रदर्शनबाट आफु खुसी रहेको समेत प्रशिक्षक भट्टले बताए ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले शुक्रबार स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो ।
अब नेपालले मंगलबार थाइल्याण्डको यू-२१ र बिहिबार जापानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।