काठमाडौं । घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलका लागि नेपालले ४ खेलाडी छनोट गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको छनौटबाट सागका लागि ४ खेलाडी छानिएका हुन् । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीबाट ४ खेलाडी छनोट गरेको हो ।
सागका लागि राष्ट्रिय भलिबल टिमका पूर्व सदस्य मान बहादुर श्रेष्ठ, सञ्जु बिक्रम शाह, दिल सुनुवार र राजु विक छनोट भएका छन् ।
पोखरामा भएको बिच भलिबलको राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा संघले खेलाडी बन्द प्रशिक्षणमा राखेको थियो ।
महिला बिच भलिबलका लागि भने खेलाडीको अन्तिम छनोट केही दिनपछि टुंगो लाग्ने साग टिम तयारीका निर्देशक महेन्द्र राईले खेलपाटीलाई जानकारी गराए ।
नेपालमा आयोजना हुने साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
सागको लागि नेपालले २७ खेलमध्ये १४ खेलको अन्तिम छनोट गरिसकेको छ ।