काठमाडौं । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (आइतबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमले दोस्रो मैत्रीपूर्णमा थाइल्याण्डको बैंकक युनिभर्सिटी टिमसँग खेल्नेछ । नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुनेछ ।
यस अघि नेपालले शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको थियो । नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।