काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व सदस्य मान बहादुर श्रेष्ठ र दिल सुनारको आज (मंगलबार) चीन जाने भएका छन् ।
चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तर्गतको बिच भलिबलमा प्रतिस्पर्धा गर्न मान र दिल त्यसतर्फ जाने भएका छन् ।
अन्तराष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणको प्रतियोगितामा मान र दिल नेपाली सेनाको टिमबाट प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा मान र दिलसँगै सेनाले अन्य विभिन्न १३ खेलमा समेत सहभागिता जनाउने छन् । मान र दिल बेलुका ५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
चीन जानुअघि खेलपाटीसँग कुरा गर्दै मानले तयारी राम्रो रहेको र उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘हामीले विगत ३ महिनाबाट तयारी गरिरहेका छौं । तयारी राम्रो भएको छ । १०५ राष्ट्र रहेका छन् । जतिसक्दो राम्रो नतिजा दिनेछौं ।’ मान बहादुरले भने ।
प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । सेनाले बिच भलिबलसँगै आर्चरी, ब्याडमिन्टन, एथलेटिक्स, जुडो, कुस्ती, फेन्सिङ, तेक्वान्दो, सुटिङ, ट्रायथलन, बक्सिङ, घोडचडी र मोर्डन पेन्टाथलनमा प्रतिस्पर्धा गर्नेछ । जसमा ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछ । विश्व सैन्य खेलकुदमा १०५ देशको सहभागिता रहेको छ ।