काठमाडौं । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने नेपाली महिला राष्ट्रिय भलिबल टिमको विदाई गरिएको छ ।
नेपाल भलिबल संघले मंगलबार प्रशिक्षणमा जाने राष्ट्रिय टिमको विदाई गरेको हो । २२ सदस्यीय नेपाली टिम बुधबार (भोलि) त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष रन्जन खड्का, महासचिब जितेन्द्र बहादुर चन्द लगायतले विदाई गरे ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड जान लागेका हुन् ।
पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हुदैछ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने छन् ।