काठमाडौं । राष्ट्रिय महिला भलिबल टिम वैदेशिक प्रशिक्षणका लागि असोज २९ गते थाईल्याण्ड जाने भएको छ ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि महिला टिम असोजको अन्तिम साता थाईल्याण्ड जाने पक्का भएको हो ।
टिम म्यानेजर रिता कोईरालाका अनुसार २२ सदस्यीय नेपाली टिम थाईल्याण्ड जानेछ ।
टिममा १८ खेलाडी, तीन प्रशिक्षक र एक टिम म्यानेजर रहनेछन् ।
मुख्य प्रशिक्षक जगदिश भट्टले थाईल्याण्ड पुगेपछि मात्र नेपालले खेल्ने टोलीको टुङ्गो लाग्ने खेलपाटीलाई बताए ।
'हाम्रो टिमको स्तर हेरेर थाईल्याण्डले नेपालसंग खेल्ने महिला टिमको ब्यवस्थापन गर्ने बताएको छ ।' उनले भने, 'हामीले खेलाडीको भिडियो फुटेज पठाईसकेका छौ ।'
साग र एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि थाईल्याण्डमा वैदेशिक प्रशिक्षकको व्यवस्थापन गरिएको हो । त्यहाँ रहदा नेपाली टिमको विशेष अभ्यासका साथै केही मैत्रीपूर्ण म्याच समेत खेल्नेछ ।