काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिम वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने भएका छन् ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि महिला टिम असोज २९ गते थाइल्याण्ड जाने पक्का भएको खेलपाटीलाई जानकारी गराए ।
प्रशिक्षक भट्टको अनुसार नेपाली टिम कात्तिक १८ गतेसम्म थाईल्याण्डमा रहने छन् । नेपाली टिमले थाइल्याण्डको राष्ट्रिय टिमसंगै बलिया टोलीसंग मैत्रीपूर्ण खेल खेल्नुका साथै प्रशिक्षण समेत गर्नेछ ।
‘अक्टोबर १६ मा थाइल्याण्ड जानेछौ र नोभेम्बर ४ मा फर्कन्छौ । थाईल्याण्डको राष्ट्रिय टिमदेखि नेपाल भन्दा बलिया र वरियतामा माथि रहेका टिमसँग ५/६ वटा मैत्रीपूर्ण खेल खेल्छौ ।’ प्रशिक्षक भट्टले भने, ‘थाईल्याण्डमा रहदाँ महिला टिमले प्रशिक्षण समेत गर्नेछ । करिब २० दिन जति प्रशिक्षण र मैत्रीपूर्ण खेलमा टिम व्यस्त रहनेछ ।’
बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय टिम थाइल्याण्ड जानेछन् । बन्द प्रशिक्षण सुरु भएपछि महिला भलिबल टिमले पहिलो पटक थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
महिला भलिबल टोलीले सागका लागि साउन १ गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । बन्द प्रशिक्षणको प्रारम्भिक टोलीमा २८ खेलाडीलाई बोलाइएको थियो ।
थाईल्याण्डको भ्रमणलाई नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीको रुपमा समेत लिएको छ ।
सागअघि नेपालले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हुदैछ ।
सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने छन् ।
थाईल्याण्डको भ्रमणले सेन्ट्रल जोन र सागमा नेपाली खेलाडीको प्रर्दशनमा सुधार आउने प्रशिक्षक भट्ट बताउँछन् ।