काठमाडौं । स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मनमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगिताको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित गर्यो । विजेताले खसी तथा उपविजेताले बोका प्राप्त गरे ।
मनासलुले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मनासलुले सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) लाई २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । मनासलुले एक जोर भाले पुरस्कार पायो ।
स्वति सदनका मदनबाबु दवाडी उत्कृष्ट खेलाडी घोषित भए । ग्राम सेवाले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, शैक्षिक गतिविधि हेर्ने विद्यालयका अभिभावक विष्णुप्रसाद पनेरु, कार्यक्रम संयोजक राजन अधिकरी, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।