काठमाडौं । नेपालले पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ ।
'बंगलादेश भलिबल फेडेरेसनको पत्र हिजो आईपुगेको छ । बल्ल प्रतियोगिताको मिति आएको छ । च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउने छ,' महिला टोलीका प्रशिक्षक जगदीश भट्टले खेलपाटीसँग भने ।
नेपालबाट घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेको टिमले प्रतियोगिता खेल्नेछ । नेपालमा हुने साग मंसिर १५ देखि २५ गतेसम्म हुनेछ ।
एसियन भलिबल कन्फेडेरेसनको सेन्ट्रल जोनमा १२ राष्ट्र रहेका छन् । तर, प्रतियोगितामा सहभागी टोलीको भने तय भएको छैन ।
'हालसम्म ७ राष्ट्रले खेल्ने पक्का भएको छ । बाँकी केहि दिनमा तय हुनेछ । त्यस समय अर्को ठुलो प्रतियोगिता हुने हुँदा इरान, काजिकिस्तान लगायतको राष्ट्र सहभागिता नहुने सम्भावना छ,' प्रशिक्षक भट्टले भने ।