काठमाडौं । त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा आर्मीका धन सर्वोकृष्ट चुनिएका हुन् । सर्वोकृष्ट बनेसंगै धनले एक थान मोटरसाइकल प्राप्त गरे ।
आर्मीलाई फाइनलसम्म पुर्र्याउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, उनले टिमलाई उपाधि भने दिलाउन सकेनन । शनिबार भएको फाइनलमा आर्मी पुलिससँग ३-० को सेटमा पराजित भएको थियो ।
व्यक्तिगत विधातर्फ भने पुलिस क्लबका खेलाडीको वर्चश्व रह्यो ।
उत्कृष्ट स्पाइकर पुलिसका कुल बहादुर थापा (हरि), उत्कृष्ट ब्लकर गण्डकीका यम क्षेत्री, उत्कृष्ट सेटर पुलिसका कप्तान ईम राना, उत्कृष्ट सर्भर पुलिसका द्वारिका थापा, डिफेन्डर पुलिसका भीम गाहा मगर र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १०/१० हजार प्राप्त गरे ।
यस्तै कार्यकममा नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान तथा पुलिसका कप्तान ईम रानालाई सम्मान गरिएको थियो । लामो समय नेपाली भलिबल क्षेत्रमा रहेर भलिबल विकासको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक प्रगतिशील यूवा नेपालले जनाएको छ ।