काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ बसपार्कमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । ढोरपाटन क्लबको कोर्टमा भएको फाइनल भिडन्तमा पुलिसले आर्मीलाई २५-२२, २५-२२ र २५-२२ को सेटमा पराजित गर्यो ।
चोटका कारण मुख्य खेलाडी मान बहादुर श्रेष्ठबिना कोर्ट उत्रिएको आर्मीले पुलिसमाथि कुनै दबाब बनाउन सकेन् । ओपन स्पाइकर मान गत सोमबार भएको यसै फाइनलको दौरान नै घाइते भएका थिए । तर, सोमबार भएको फाइनल खेल भने वर्षाको कारण तेस्रो सेट चलिरहदा स्थगित भएको थियो ।
वर्षाले खेल स्थगित हुनुअघि सोमबार दुवै टोलीले एक एक सेट जितेका थिए । पहिलो सेट आर्मीले २५-२३ ले जितेको थियो भने दोस्रो सेट पुलिसले २५-२० ले जितेको छ । तेस्रो सेटमा आर्मी २३-१९ ले पछि रहेको थियो । तर, शनिबार भने आर्मीमाथि पूर्व रुपमा हाबी हुँदै पुलिसले उपाधि जितेको छ ।
उपाधिसँगै पुलिसले ५ लाख रुपैया हात परेको छ । यस्तै पुलिसले आर्मीसँग प्रधानसेनापति कप भलिबलको फाइनल व्यहोरेको हारको बदला समेत लिएको छ । उपविजेता बनेको आर्मीले ३ लाखमा चित्त बुझायो ।
प्रगतिशील यूवा नेपालको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको थियो । गत सोमबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।
तेस्रो बनेको गण्डकीले १ लाख र चौथो एपीएफले ५० हजार रुपैया प्राप्त गरे ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।