काठमाडौं । पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा वर्षा बाधक बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको फाइनल खेल स्थगित भएको हो । स्थगित फाइनल खेल भोलि (मंगलबार) १ बजे हुने आयोजकले जनाएको छ ।
वर्षाले खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक सेट जितेका थिए । खेलमा पहिलो सेट आर्मीले २५-२३ ले जितेको छ भने दोस्रो सेट पुलिसले २५-२० ले जितेको छ । तेस्रो सेटमा आर्मी २३-१९ ले पछि रहेको छ ।
प्रतियोगितामा गण्डकी प्रदेश भने तेस्रो भएको छ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।
प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।