काठमाडौं । चुनाव रोक्ने अन्तरिम आदेश खारेज गर्ने अदालतको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई बालुवाटार बोलाए ।
पार्टी अध्यक्षसमेत रहेका ओलीको आग्रहमा भोलीपल्ट एकाबिहानै जीवनराम सरकारी निवास वालुवाटार छिरेका थिए ।
सिंगापुरबाट लामो उपचार गराएर ओली स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीको हैसियतमा गर्नुपर्ने धेरै काम उनका अगाडी थिए ।
तर ओली ओलम्पिक कमिटिको आसन्न चुनावबारे जीवनराम छलफल गर्न चाहन्थे ।
ओलीका प्रिय पात्र थिए, उमेशलाल श्रेष्ठ ।
जीवनरामविरुद्व उनै उमेशलालले उम्मेदवारी दिएका थिए । उनी कुनै हालतमा ओलम्पिकको नेतृत्वमा जान चाहन्थे । पहिलो पटक जीवनरामसंग हारेको तुष सायद उनको मनमा बाँकीनै थियो ।
कम्युनिष्ट आन्दोलनका संस्थापक नेता हुन्, पुष्पलाल श्रेष्ठ । उनै पुष्पलालका छोरा हुन, उमेशलाल । नेपालको कम्युनिष्ट आन्दोलनमा परिवारले खडा गरेको विरासतमा सायद उमेशलाल रमाउन सकेनन् । बरु उनी ब्यापार, व्यवसायमै व्यस्त रहे ।
तर हक्कीका पुराना खेलाडीको रुपमा उनी खेलकुदसंग जोडीनै रहे । सोही कारण समेत उनी ओलम्पिक कमिटिको नेतृत्वमा एक पटक पुग्न चाहन्थे ।
उनलाई पार्टीले धेरै राजनीतिक नियुक्तीमा ‘अफर’ नगरेको नि हैन । तर उमेशलाल सधै तमाम प्रस्ताव टार्दै आएका थिए ।
तर ओलम्पिक कमिटिको नेतृत्वमा उनको आशक्ती अलि बढीनै थियो ।
ओलीले पनि उमेशलालको रहर पुरा गरिदिने मन बनाएका थिए ।
त्यसका लागि ओलीले ओलम्पिक कमिटिको अध्यक्षमा उम्मेदवारी दिएका जीवनरामलाई रोक्नुपर्ने थियो ।
माननिय (सांसद) हुनुहुन्छ । महानगर (काठमाडौं)को ईन्चार्ज हुनुहुन्छ । समय दिन भ्याउनुहुन्छ त ?
बालुवाटारमा निम्त्याईएका जीवनराम अगाडी ओलीले सुरुमै प्रश्न तर्साए ।
‘क्षेत्र सानो छ । फेरी ओलम्पिक कमिटि टाढा पनि छैन । समयको समस्या हुदैन । भ्याईहालिन्छ नि ।’ ओलीको सम्भावित प्रश्नबारे जीवनराम तयार देखिन्थे ।
जीवनरामको उत्तर भने ओलीका लागि अप्रिय थियो । धुमाउरो पारामा ओलीले उम्मेदवारी फिर्ता लिन जीवनरामसंग आग्रह गरेका थिए । सरकारी पक्षको उम्मेदवार खडा भईसकेको संकेत जीवनरामलाई दिन चाहन्थे ।
‘अनि जित्नुहुन्छ त ?’ ओलीले फेरी सोधे ।
‘जित्न समस्या छैन । सबै साथी लागेका छन् । ओलम्पिकमा काम गरेको लामो समय भयो । सबैसंग भावनात्मक सम्बन्ध छ । सबैले सहयोग गर्छु भनेका छन् । म त जित्नेमा आत्मविश्वासी छु ।’ भुमिका हाल्दै जीवनरामले थपे, ‘असहयोग गर्ने कारण छैन जस्तो लाग्छ । कसैलाई विराम गरेको छैन, अनियमितता गरेको छैन । सबै साथीलाई मिलाएर अगाडी बढाएको छु । त्यसैले जित्नेमा ढुक्क छु ।’
वाकपटुतामा सिपालु जीवनरामले समेत ओलीलाई ओलम्पिकमा आफ्नौ हैसियत अवगत गराए ।
जीवनरामको मनसाय बुझेका ओलीको कुराको बिट मार्दै भने, ‘मन्त्रालय र परिषद्ले ‘टाईट’ गरे नि जित्नु हुन्छ त ?
‘त्यसो गर्दा नि फरक नपार्ला ।’ जीवनरामले ओलीलाई मुखभरीको जवाफ फर्काए, ‘साथीहरु स्वतन्त्र हुनुहुन्छ । विवेकको निर्णय गर्नु हुन्छ । त्यसले खासै फरक नपर्ला । फेरी ओलम्पिक अन्तराष्ट्रिय संस्थाहरुले हेर्ने हो । स्वयत्त हुनपर्छ । सरकारी हस्तक्षप गर्नुहुन्न भन्ने मान्यता समेत छ । भोली राजनीतिक हस्तक्षप भएमा आईओसीले निलम्बन गर्ने, अनेक खालको बखेडा झिक्ने गर्न सक्छ । त्यसैले सरकारको भुमीका तटस्थ हुदाँ राम्रो होला ।’
जीवनरामले पार्टी नेतृत्वसामु ओलम्पिक चुनावबाट पछाडी नहट्ने अडानमात्र राखेनन्, सरकारी हस्तक्षप स्विकार्य नहुने घुमाउरो तरिकाले सचेत पनि गराए ।
जीवनरामले दिएको मुखभरीको जवाफले रन्थनिएका प्रधानमन्त्री ओलीले भोलीपल्टै खेलकुदमन्त्री, सदस्य सचिव र उपाध्यक्षलाई बालुवाटार बोलाए ।
‘जीवनरामले मान्नु भएन । अब पार्टीको संस्थागत उम्मेदवार उमेशलाल श्रेष्ठ हुनुहुन्छ । उहाँलाई जिताउन पर्यो ।’
पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विण्णु पौडेललाई अगाडी राखेर ओलीले प्रष्ट भाषामा निर्देशन दिएका थिए ।
‘सबै संघलाई बोलाएर १५, १६ भोट भन्दा माथि जति हुन्छ तान्नुस । नभए मलाई भन्नुस । नसक्ने भए म आफै फिल्डमा ओर्लन नि तयार छु ।’
प्रधानमन्त्रीको निर्देशनको अर्थ बुझेका खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव रमेश सिलवाल र राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना बालुवाटारबाट बाहिरिए ।
निर्वाचन आउन दुई दिन मात्र बाँकी थियो ।
खेलकुद मन्त्रीले पुल्चोकस्थित मन्त्री क्वार्टरमै बसेर खेल संघका प्रतिनिधिसंगको भेटघाटलाई तिव्र पारे ।
कतिलाई आग्रह गरे, कतिलाई निर्देशन दिए ।
यसअघि जीवनरामले आफुनै ओलम्पिक र सरकारको उम्मेदवार भएको दाबी गर्दै आएका थिए । त्यसका लागि उनले राखेप उपाध्यक्ष पिताम्बरलाई देखाउने गरेका थिए ।
तर खेलकुदमन्त्रीले उमेशलाललाई सरकारको आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्दै खेल संघका प्रतिनिधिसंग भोट माग्ने काम गरे ।
सदस्य सचिव सिलवालले समेत साथ दिए ।
प्रधानमन्त्रीको निर्देशनसंगै पिताम्बर र समिममियाँ अन्सारीले लाईन ‘चेन्ज’ गरेको घोषणा गरे । समिम तीनै ब्यक्ती हुन्, जसलाई प्रधानमन्त्री ओलीले निकै जोडबल गरेर मुस्लिम आयोगको अध्यक्ष बनाएका थिए ।
सिंगो संसदीय सुनुवाई समितिलाई पंगु बनाउँदै ओलीले समिमलाई आयोगको नेतृत्वमा नियुक्त गरिदिएका थिए ।
सरकारनै नाङ्गो रुपमा उमेशलालको पक्षमा उत्रिएपछि जीवनरामले समेत दबाब महशुश गरे ।
सदस्य सचिव आफै महासचिवका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई समाएर खेलकुद संघका अध्यक्ष र प्रतिनिधिको घरदैलोमा पुगेपछि निर्वाचनको अघिल्लो दिन ओलम्पिक कमिटिको भवनमा भुँईचालोका साना तिना परकम्पननै गएको थियो ।
मतदानको अघिल्लो दिन जीवनरामले आफ्नो प्यानलका १९ जनाको रात्रीकालिन भेटघाट राखेका थिए । बैठकमा सबै १९ जना उपस्थित भए । सबैको उपस्थितले जीवनरामले राहतको सास फेरे । तर उनको मनमा रहेको छटपटी मुहारमा प्रष्ट देख्न सकिन्थ्यो ।
सरकार उमेशलालको पक्षमा नाङ्गो रुपमा उत्रिएको भन्दै जीवनरामले सबैका अगाडी दुखेसो पोखे । उनले संघहरुको स्वयत्ताको शब्द बैठकमा पटक पटक दोह¥याए । ओलम्पिक चुनावमा सरकारले गरेको हस्तक्षपको उदाहरण दिदै विस्तारै त्यो संघहरुमा समेत दोहरिने भन्दै प्रतिनिधिलाई विश्वासमा लिने काम गरे । उनले सबैसंग पुन एक पटक भोटको प्रतिबद्वता मागेका थिए ।
सोही समय उमेशलालले आफ्नो समुहको बैठक राखेका थिए । उमेशलालको बैठकमा समेत १९ जना सदस्यनै पुगे । केही सदस्य जीवनरामको बैठक सकेर सहभागी भएका थिए ।
सरकारनै लागेपछि उमेशलालविरुद्व जान नसकिने राय धेरै संघका प्रतिनिधिले राखेका थिए । सोही कारण चुनावमा उमेशलालको पल्लाभारी हुने लख काटिएको थियो ।
तर जब चुनावको मतपेटिका खुल्यो, धेरैका लागि परिणाम अप्रत्यासित थियो ।
जीवनरामले ७ भोटले उमेशलाललाई पछारेका थिए ।
चुनाव उमेशलालले हारेका थिए । तर उमेशलालको हारको पिडा खेलकुद मन्त्रालय र राखेपलाई बढी भएको हुनुपर्छ ।
पछिल्लो समय केन्द्रिय राजनीतिमा दुई तिहाईको सरकार चलाएका ओली ओलम्पिक चुनावमा पार्टी भित्रकै एक सामान्य कार्यकर्तासंग पराजित बनेका छन् ।
अर्को तर्फ दुई पटक राखेप सदस्य सचिवको रुपमा राखेपको नेतृत्व गरेका जीवनरामले पुन नेपाली खेलकुदमा आफु निर्विकल्प नेकपाको नेता रहेको प्रमाणित गरिदिएका छन् ।
पीताम्बरले फेरेको रंग
जीवनराम १९ जनाको प्यानल सहित ढुक्क थिए । यता सरकारका प्रतिनिधि बनेका उमेशलाल समेत १९ भोट गनेर बसेका थिए ।
तर जब उमेशलालले १० भोट मात्र पाए, पीताम्बरले ‘एक्सपोज’ भए । अर्थात उमेशलाललाई जिताउने जिम्मेवारी पाएका पीताम्बरले अन्तिममा जीवनरामलाई रोजेको खुल्न आयो ।
पीताम्बर तीनै ब्यक्ति थिए, जो बालुवाटार प्रधानमन्त्रीका अगाडी उमेशलाललाई जिताउने बाचा गरेका थिए । अनि मन्त्री क्वाटरमा बसेर संघका प्रतिनिधिसंग उमेशलालको पक्षमा भोट मागेका थिए ।
सरकारको निर्देशनसंग डराएर बसेका संघका प्रतिनिधिलाई सरकारको ग्यारेन्टी अन्तिममा पीताम्बरले गरिदिएपछि जीवनरामको पल्लाभारी भएको उमेशलाल पक्षको दाबी छ ।
पीताम्बरले राखेप उपाध्यक्षको हैसियतमा दुवै पक्षको सूचिमा रहेका संघहरुको जिम्मेवारी लिएपछि ओलम्पिक चुनावीले जीवनरामको पक्षमा ढल्किएको हाे ।
सोही अनुसार उमेशलालले पीताम्बर सहित खुलेका भनिएका ११ भोट मध्य १० भोट मात्र पाए । अस्थिर देखिएका बाँकी भोट पिताम्बरले सरकारी पक्षको जिम्मेवारी लिदै जीवनरामको पक्षमा खसाउन सफल भए ।
उमेशलालले खुलेका ११ मध्य १० भोटमात्र पाए । पुरै सरकार लाग्दा समेत बाँकी चार भोटको जोह गर्न नसकेपछि लगातार दोस्रो पटक जीवनरामसंग ओलम्पिक चुनावमा हार ब्यहोर्न बाध्य रहे ।
आवरणमा जीवनरामले चुनाव जित्न सफल भए । तर जीवनरामको चुनावी जितको ‘किंगमेकर’ पिताम्बर रहे । जीवनरामलाई जिताउन मात्र हैन, ओलम्पिकमा आफ्ना सम्भावित प्रतिस्पर्धी केशवकुमार विष्ट, पुरेन्द्र बिक्रम लाखे र समिम मिया अन्सारीलाई चुनावी दौडमा हराउन समेत उनी सफल रहे ।
आफ्नै प्यानलबाट अन्तरघात हुदाँ विष्ट रामजी श्रेष्ठसंग एक मतको झिनो अन्तरले पराजित हुदै सचिवमा हात धुन बाध्य भए । एक कित्तामा स्पष्ट हुन नसक्दा समिमले चुनाव हारेको विश्लेष पीताम्बरले सुनाउँदै हिडेका छन् ।
तर दुवै पक्षलाई समर्थनको आश्वासन दिदै उनी उप–महासचिवमा निर्विरोध हुन सफल भएका थिए ।
जीवनरामको जब्बर तयारी
जीवनरामले ओलम्पिक चुनावको तयारी निकै अघिबाट सुरु गरेका थिए । सोही अनुसार विधान संशोधन गर्दै उनले १७ सदस्यीय कार्यसमितिलाई १९ मा पु¥याएका थिए । उपाध्यक्षको संख्या बढाउँदै सचिव पदको सिर्जना गरेका थिए । जसले गर्दा सम्भावित आकंक्षीको व्यवस्थापन निकै अगाडी तय भईसकेको थियो ।
पदमात्र नभएर उनले केही प्रतिनिधिलाई विदेश यात्राको टिकट समेत थमाईदिएका थिए । सोही अनुसार निर्वाचन सकिए लगत्तै उपाध्यक्षद्वय अशोक रत्न बज्राचार्य र चुतुरानन्द वैद्य जापान उडेका छन् । त्यस्तै गोपाल सुन्दर लाल कक्षपतीले चाँडै पेरिस यात्रामा निस्कदैछन् ।
कार्यसमितिलाई कुनै जानकारी नभएको वैदेशिक भ्रमणलाई जीवनरामले चुनावमा प्रयोग गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
अर्को महत्वपुर्ण कुरा उनले आफ्ना पक्षका प्रतिबद्व १९ जनाको टिम तयार गरेरै चुनावमा होमिएका थिए । ओलम्पिकमा प्रतिनिधि बनेका २७ मध्य २६ जना चुनावी प्रतिस्पर्धामा थिए ।
सबैलाई चुनाव जित्न टिमको भोट आवश्यक थियो । टिम बाहिर जाने जो कोही निर्वाचनमा बढारिने पक्का थियो । सोही कारण धेरै प्रतिनिधि सरकारी दबाब झेलेरै भएपनि जीवनरामलाई साथ दिए । केही प्रतिनिधि छाडेर जीवनराम पनि पुरै प्यानललाई निर्वाचनमा विजयी गराउन सफल रहे ।
उमेशलाल आत्मविश्वास
जीवनरामले १९ जनाको टिम तयार पारेपछि बाँकी ८ जना उमेशलालको पक्षमा हुनेनै भए । बाँकी ६ जना प्रतिनिधि कुनै हालतमा तान्न सकिने आत्मविश्वास उमेशलालले लिएका थिए ।
उमेशलालले ओलम्पिक चुनावमा केही गम्भिर कमजोरी गरे, जसका कारण उनी सम्पुर्ण राज्य लाग्दा समेत चुनावमा पराजित हुन पुगे ।
पहिलो – चार बर्ष अघि चुनाव हारेपछि खेलकुदमा उमेशलाल निष्कृय जस्तै रहे । जसका कारण उनको खेलकुदसंगको सम्बन्ध पातलियो । सोही कारण उनले ओलम्पिक चुनावमा प्रभाव देखाउन सकेनन् ।
दोस्रो – जीवनरामले टिम बनाएर चुनावी मैदानमा उत्रदा समेत उमेशलालले टिम बनाउन खासै ध्यान दिएनन् । महासचिवमा पुरेन्द्र विक्रम लाखे सहित चुनावी मैदानमा उत्रिएपनि धेरै प्रतिनिधिलाई उनले विश्वासमा लिन सकेनन् ।
तेस्रो – उमेशलालको पराजयमा राजीव बिक्रम शाहले दिएको धोकाको समेत चर्चा हुने गरेको छ । एथ्लेटिक्सबाट अघिल्लो दिन आफ्नो नाम सिफारिस गरेका उनले अन्तिम दिनमा राखेप उपाध्यक्ष पिताम्बरको दबाब झेल्नै सकेनन्, र पिताम्बरलाई प्रतिनिधिको अधिकार सुम्पिए ।
एथ्लेटिक्स संघको अध्यक्ष बन्न पिताम्बरलाई प्रतिनिधि बनाउने बाचा गरेका उनले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिदै प्रतिनिधिमा पिताम्बरलाई सिफारिस गरेका थिए ।
उमेशलाल प्यानलमा रहदै आएका राजीवले अन्तिम समयमा धोका दिए । त्यहीबाट प्रतिनिधि फुस्काएका पिताम्बर चुनावको ठुला खेलाडी बनेर निस्किए र उमेशलाललाई हराउन मुख्य भुमिका खेले ।
चौथो – उमेशलाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको सरकारले निकै ढिला चुनावी तयारी सुरु गर्यो । सोही कारण अन्तिम दुई दिनमा उम्मेदवारलाई आफ्नो पक्षमा सहमत गराउन सरकार असफल बन्यो । महिना दिन अघिनै जीवनरामसंग गठजोड गरेका धेरै उम्मेदार अन्तिम समयमा ‘क्याम्प’ फेर्न सकेनन् ।
पीताम्बरको दोहरो चरित्र
राखेप उपाध्यक्ष रहेका पीताम्बरले चुनावमा दोहरो भुमिका खेले । जसका कारण प्रतिनिधिहरु अलमलमा परे । पीताम्बर सरकारको प्रतिनिधिको रुपमा चुनावमा प्रस्तुत भए । उमेशलाललाई जिताउने जिम्मेवारी पाएका उनले चलायमान भोटहरु जीवनरामको पक्षमा खसाली दिए ।
नेकपामा प्रधानमन्त्री ओली निकट मानिने पीताम्बरले संस्थापन पक्षलाई भने कडा टक्कर र धोका दिएको धेरैको बुझाई छ । राखेपको सदस्य सचिव हुने प्रयास असफल भएपछि उनले ओलम्पिकतर्फ आखाँ लगाएका थिए । तर प्रधानमन्त्रीकै उम्मेदवार हराउन पीताम्बरले ठुलो साहस देखाएको चर्चा खेलकुद वृत्तमा छ ।