काठमाडौं । त्रिभुवन आर्मी क्लब पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीले गण्डकीलाई २५-१९,२५-२१, १९-२५ र २५-१७ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरेको हो ।
यसअघि आर्मी समूह 'क' को विजेता र गण्डकी समूह 'ख' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।
पुलिस र एपीएफबीचको दोस्रो सेमिफाइनल भने खराब प्रकाशको कारण स्थगित भएको छ । खेलको चौंथो सेट चलिरहदा रात परेपछि खेल सारिएको हो । दोस्रो सेमिफाइनल आइतबार हुनेछ ।
प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।