काठमाडौं । नेपाल पुलिस क्लब समूह विजेता बन्दै पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।
पहिलो सेट ३१-२९ को जित निकालेको गण्डकी त्यसपछिका तीनै सेटमा पराजित भयो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको सेट २५–१२, २७–२५ र २५–१९ ले जित निकालेको थियो ।
जितसँगै पुलिस समूह 'ख' को विजेता बनेको हो । यस समूहबाट गण्डकी उपविजेता बन्यो ।
अब पुलिसले सेमिफाइनलमा समूह 'क' को उपविजेता एपीएफसँग खेल्नेछ । यस्तै गण्डकीले समूह 'क' को विजेता आर्मीसँग खेल्नेछ ।
प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो ।
यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।