काठमाडौं । त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो । आर्मीले ढोरपाटनमाथि २५-१४,२५-१९ र २५-२२ को सेटमा जित निकाल्यो ।
योसँगै समूह 'क' को आर्मीले अपराजित रहदै शीर्ष स्थानमा सेमिफाइनलमा स्थान बनाएको छ । यस समूहबाट एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यस समूहबाट ढोरपाटन र जावलाखेल ट्रेनिङ सेन्टर भने बाहिरिएका छन् ।
प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।