काठमाडौं । ढोरपाटन ट्रेनिङ सेन्टरले पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा जावलाखेल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै ढोरपाटनले विजयी सुरुवात गरेको हो ।
ढोरपाटनले जित निकाल्ने क्रममा जावलाखेललाई २५-१६,२१-२५,२५-२० र २५-१८ को सेटमा पराजित गर्यो । जितसँगै समूह 'क' ढोरपाटनले २ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत अन्य तीन खेल भने वर्षाको कारण स्थगित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा आयोजक प्रगतिशील यूवा नेपाल र नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा गल्कोट युवा क्लब र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको हो । स्थगित खेल बुधबार हुनेछ ।
आयोजक प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।