पोखरा । पोखरामा सोमबार सम्पन्न तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीकी एन्जिला प्रधान एक समर्थकबाट नगदसहित पुरस्कृत भएकी छिन् ।
पोखराका भलिबल समर्थक नारायण गुरुङले सोमबार लिब्रो एन्जिलालाई पुरस्कृत गरेका छन् । उनको खेल मन पराएर गुरुङले एन्जिलालाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरेका हुन् ।
पोखराको लामाचौरमा फाइनल खेलको दौरान गुरुङले एन्जिलालाई नगद प्रदान गरे ।
१२ वर्षीय एन्जिलाले पहिलो पटक क्लबबाट ठुलो प्रतियोगिता खेलेकी थिइन् । मुख्य लिब्रो सलिना श्रेष्ठ राष्ट्रिय टिमको क्याम्पमा रहेको कारण एन्जिलाले पोखरामा खेल्ने मौका पाएकी थिइन् ।
प्रतियोगितामा न्यू डायमण्ड उपविजेता बनेको थियो । न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।