पोखरा । पोखरामा जारी तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम नेपाल पुलिस क्लब र होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।
पोखराको लामाचौरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा न्यू डायमण्डसँगको भेट पक्का गर्यो ।
श्रीरामविरुद्ध एकतर्फी खेल पस्किएको पुलिसले २५-४, २५-७ र २५-११ को सेटमा पराजित गर्यो ।
यसअघि चार पटकको च्याम्पियन न्यू डायमण्डले पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । न्यू डायमण्डले गण्डकीलाई २५-१८, २५-२० र २५-१९ को सेटमा हराएको थियो ।
फाइनल खेल सोमबार १ बजे हुनेछ । त्यसअघि गण्डकी र श्रीरामबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
यसअघि समूह चरणको खेलमा पुलिसले न्यू डायमण्डलाई ३-२ को सेटमा हराएको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।