पोखरा । चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमी पोखरामा जारी तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड उपाधि नजिक पुगेको हो ।
पोखराको लामाचौरमा भएको खेलमा न्यू डायमण्डले गण्डकीलाई २५-१८, २५-२० र २५-१९ को सेटमा पराजित गर्यो ।
अब न्यू डायमण्डले उपाधिका लागि नेपाल पुलिस क्लब र श्रीराम खेलकुद विकास समिति दाङबीचको विजेतासँग खेल्नेछ ।
पुलिस र श्रीरामबीचको दोस्रो सेमिफाइनल खेल आजै हुनेछ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।